(यो लेख नेपाल सन्देश. कम बाट साभार गरिएको छ / )
गत डिसेम्बरमा टोकियो रेल्वेलेनमा आफ्नो जीवनलाई अन्त्य गरेका नेपाली विद्यार्थीको फेसबुकमा लेखिएको यो पंक्तिले अधिकांश विदेशी भूमिमा रहेका नेपालीको मनोदशालाई उजागर गर्छ । आफ्नो समाज, परिवार, संस्कृति र प्रियजनलाई चटक्क छाडेर विरानो मुलुकको जीवन पक्कै पनि सजिलो छैन । विगत दुई वर्ष यता जापान प्रहरीले विदेशीको आत्महत्या तथ्यांकलाई छुट्टै वर्गीकरण गरेर प्रकाशन गर्न छाडिएपनि सन् २०११ को तथ्यांक हेर्दा जापानमा तीन सय २४ जना विदेशीले एक वर्षभित्र आत्महत्या गरेका छन् ।दुई वर्ष यता झण्डै दुई दर्जन नेपालीले जापानमा मात्र आत्महत्या गरेका छन् । रोजगारको खोजीमा विदेशिने नेपालीहरुको आत्महत्याको समाचार आजकाल लगातार रोकथामको कुनै पहल भएको देखिदैन । देशको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स भित्राउने लाखौं नेपालीको स्वास्थ्यको एउटा गम्भीर पाटोमा ध्यान गएको देखिदैन ।
आत्महत्या तेस्रो कारण
वैदेशिक रोजगार प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार विदेशी भूमिमा हुने नेपालीको मृत्युकोवैदेशिक रोजगार प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार विदेशी भूमिमा हुने नेपालीको मृत्युको कारणमा आत्महत्या– दुर्घटना र मुटु रोगपछिको तेस्रो प्रमुख कारणमा पर्छ । सोलस्थित नेपाली दूतावाद्वारा १५ महिनाअघि गठन गरिएको अध्ययन समितिको प्रतिवेदनअनुसार कोरियामा नेपाली दूतावास स्थापना भए यता दुई महिला र ५५ पुरुषको मृत्यु भएको छ । जसमध्ये १९ जनाले आत्महत्या गरेका हुन् ।गत वर्ष मात्र कोरियामा पाँच जनाले आत्महत्या गरे । प्रतिवेदनमा आत्महत्या गरेकामध्ये ९० प्रतिशत डिप्रेसनको सिकार भएको उल्लेख छ । पारिवारिक झमेला, एक्लोपना, भाषा समस्या, हावापानी, रात्रिकालीन काम र भिन्न संस्कृतिका कारण डिप्रेसन हुने गरेको प्रतिवेदनले औंल्याएको छ ।
मध्यपूर्वका मुलुकमा यो संख्या अझ बढी रहेको छ । अधिकांश विदेशिएका नेपालीको लागि परदेश एउटा बाध्यता हो । उचित रोजगार र अवसरको खोजीमा विदेश आउने नेपालीको पछाडि उसको पारिवारिक विछोड र सामाजिक असुरक्षा पहिलो पीडा हुने गर्छ । अधिकांश नेपाली ऋण गरेर विदेश भित्रिएको हुन्छन् । त्यसबाहेक पनि नयाँ वातावरण, भाषा, संस्कृति, व्यस्त जीवनजस्ता समस्याहरु परदेशी जीवनमा एकैपटक आइपर्छन् ।
डिप्रेसन आत्महत्याको कारण
सबै कुरा र वातावरण आफूले सोचेको जस्तो हुँदैन । सोचेजस्तो र विदेशको जीवनमा मेल नखाँदा जीवनमा नैराश्यता बढेर जानु अस्वाभाविक होइन । जसका कारण उनीहरुमा तनाव, चिन्ता, अनिद्रा, अरुची, पाचन कमजोरी जस्ता समस्या सुरु हुन्छ । जुन समस्या लामो समयसम्म रहँदा उनीहरुमा विभिन्न मानसिक समस्या समेत देखापर्छ ।कतिले देखेका सपना पूरा हुन्छन् भने कतिका सपना त्यत्तिकै तुहिन्छन् । सपना तुहिनेहरु आत्मवलको अभावमा विचलनको बाटो अँगाल्न पुग्दा अनन्त: उचित मार्ग दर्शन, परामर्श र उपचारको अभावमा उनीहरुले आत्महत्याको बाटो रोजेको देखिन्छ ।तिनै आत्महत्याको बाटो अँगाल्नेहरुको संख्या विदेशी भूमिमा बढ्दै जान थालेको छ । देशको अर्थिक आधार बनेका यी नेपालीले आत्महत्याको बाटो रोज्नु मुलुकको लागि नै दुर्भाग्यपूर्ण छ । झिल्को नभएर यो एउटा डढेलोको रुपमा विकसित भैसकेको छ । तसर्थ: सम्बन्धित निकायले तुरुन्त ठोस कदम चाल्नुपर्ने देखिन्छ ।
अभिमुखीकरण तालिमको आवश्यकता
नेपाली युवालाई प्रभावकारी रुपमा अभिमुखीकरण तालिम नदिई विदेश पठाउँदा यति ठूलो संख्यामा आत्महत्या भएको देखिन्छ । विदेशी भूमिमा यसरी बढीरहेको समस्या नियन्त्रण गर्नका लागि सबैभन्दा पहिले विदेश आउनुपूर्वको अभिमुखीकरण तालिमलाई अझ बढी प्रवभाकारी बनाउनु पर्ने देखिन्छ ।
निश्चित मापदण्डसहितको सामाजिक र मानसिक तालिमको विकास गर्नुपर्ने देखिन्छ । नेपाली कामदार बढी भएका मुलुकमा छोटो समयका सामाजिक र मानसिक अभिमुखी तालिमको व्यवस्था नेपाली दुतावासमार्फत गर्न सकियो भने मध्यपूर्वका मुलुकमा भएका कामदारको धेरै सामाजिक र मानसिक विचलन समस्या निराकरण गर्न सकिने देखिन्छ ।
दूतावाससँगको पहुँच नपुग्दा
विदेशी भूमिमा यसरी आत्महत्या बढ्नुको अर्को कारण सम्बन्धित देशमा भएका दुतावासको नेपाली कामदारसम्म पहुँच नपुग्नु पनि एक हो । अधिकांश दूतावासको आमनेपाली कामदार र विद्यार्थी वर्गमा पहुँच पुगेको छैन ।दूतावास नेपाली श्रमिकहरुको दु:खसुखको साथी बन्न सकेको देखिँदैन । विदेशी भूमिमा रहेका सिमित संस्थाहरुले केही प्रयास गरेपनि उनीहरु पनि १२ घण्टासम्म काम गर्नुपर्ने श्रमिकको तहसम्म पुगेका छैनन् । ती संस्थाहरुले आफ्नो पहुँचलाई बढाएर मजदुर र विद्यार्थी नेपालीको सामाजिक र मानसिक एक्लोपनको साथी बन्नुपर्ने देखिन्छ ।
झन्डै ३० लाखको हाराहारीमा विदेशिएका नेपालीहरुको यो समस्यालाई सम्बन्धित निकायले तुरुन्त सम्वोधन गर्नुपर्ने देखिन्छ । जोखिममा रहेका वर्गको पहिचान गरी नेपाली दूतावास, गैरआवासिय नेपाली संगठन र अन्य सरकारी निकायमार्फत परिणाममुखी कदम तत्काल आवश्यक देखिन्छ ।
link——http://www.nepalsandesh.com/2014/04/15/82015