कोठारी

वर्षमा एक दुई पटक मात्र दर्शन हुने गाडी हेर्न हामी सधै यति लालयित हुन्थ्यौं की गाडीको आवाज सुन्ने बित्तिकै पुरैगाउँ गाडीको पछाडि दौडिने गथ्र्यो । खलासीको चुरीफुरीको बिच हामी मध्ये कोहिले १ सेकेण्ड को लागि पनि गाडीमा झुन्डिन सक्यो भने त्यो पुरै दिन गाउँले केटाकेटी बिचको हिरो हुन्थो / त्यतिबेला खयरका काठ लिन गाउँमा कहिले काँही मात्र ट्रक र ट्याक्टर आउने गर्थे ।

ट्रक र ट्याक्टर गएको धेरैबेर सम्मपनि हामी टायर हिँडेको बाटोमा बस्ने गथ्र्यौं । पेट्रोल र डिजेलको बास्नानै मिठो लाग्ने / परिवारमा कान्छो हुनुको एउटा बेफाइदा हुने गर्छ । दाइहरुले लगाएर छोटा भएका लुगा सबै कान्छोले लगाउनु पर्ने हुन्छ । म गाडीको पछाडि सधै दौडिने भएतापनि झुन्डिन कहिले सकिन ।
सानोदेखि बूढीऔंला चुसिरहने बानी भएको मेरो एउटा हात सँधै मुखमा र अर्को हात दाइको जडौरी पाएको मेरो जाँगेमा हुन्थ्यो र ठुलो कट्टु झर्ने डर संगै ट्रक र ट्याक्टरमा झुन्डिने रहर कहिले पूरा भएन ।
हाम्रा बा कोठारमा काम गर्ने भएकाले हामी कोठारसंगैको सानो बुकुरोमा बस्ने गथ्र्यौं । कोठारमा धेरै वस्तुभाउ भएकाले मेरो दाइ कोठारको भैसंी चराउने काम गर्थे । म दाइलाई सघाउने काम गर्थें । दिनभरी भैसीपछि हिँड्दै माटाका गोली (मटेङ्ग्रा) बनाउने मेरो नियमित काम हुन्थो ।म धान काटेर सकेका खेतका गह्रा चाहर्दै छुटेका धानका बाला बटुल्ले काम पनि गर्थे । त्यतिबेला भारतबाट भारतीयहरु ठण्डा बरफ बेच्न गाउमा आउँथे । आधा कचौरा धान बापत रातो ठण्डा र एक कचौरा बापत सेतो खुवा भएको बरफ साट्न पाइने गथ्र्यो । सेतो मलाई ठण्डा बरफ खानुको फेरी छुटै इज्जत हुने गथ्र्यो ।
हाम्रो कोठारका मालिकहरु ठकुरी थिए । वर्षौं पहिले सल्यानका राजा रे बर्दियाको मौजाको जिम्मा लिएर राजासाहेब बर्दिया आएका थिए रे । कोठारमा राज साहेब र मुमारानी साहेबका अतिरित्त उनीहरुको १ जना छोरी पनि थिइन । लखनउमा बसेर कलेज पढने उनी चाडपर्वमा मात्र बर्दिया आउथिन् ।
एक दिन अचानक गाउँभरीका आइमाईहरु कोठारमा जम्मा भएर सालको पातको पत्री दुना गास्न थाले । के हुन थालेछ भनेर कुरा बुझेको त मैया साहेबको विवाह पो हुन लागेको रहेछ । मलाई खुब खुसी लाग्यो तर यो खुसी बिहेको भन्दा पनि बिहेमा खान पाइने बंङगुरको मासुको लागि थियो । प्रत्येक वर्र्ष माघीमा मात्र खान पाइने बङगुरको मासु यो पल्ट मंसिरमा खान पाइने भयो ।
ठूली मैया रानीको बिहेको माहोलबीच बिदाईको पल सुरु हुन थाल्यो । मैयारानीको बिदाईको लागि गाडा (लडिया) सुन्दर किसिमले सजिएको थियो । बिदाईको पल केही नराम्रो हुने भएकोले म अलि परतिर उभिएर रमिता हेर्दै थिए । अचानक ठूलो मालिकले मलाई बोलाउनुभयो र यी बाच्छाहरुले अरुलाई चिन्दैनन् ।
मैयाको डोली तैले चलाउनुपर्छ र लडियामा गएर बस् भन्नुभयो । अचानक आएको जिम्मेवारीले म झस्किएँ । अब बच्ने उपाय थिएन । म लडियामा बसे । साँझतिर डोली बोकेको लडिया मैया साहेबको घर पुग्यो । धुमधाम सित उहाँको स्वागत गरियो । अर्को दिन बिहान फर्किनु पर्ला भन्ने सोची त्यो रात लडियामा नै सुतें ।
बिहानदेखि भोजको आयोजना गरिएको थियो । मैया साहेबसित बिदा नमागी कसरी फर्किनु मैले बिदा माग्ने दाउ खोजिरहेको थिए । मैया साहेबको अगाडि गएर मैले बिदाईको हात जोडें । मैया साहेबले विस्तारै भन्नुभो त नफर्की अब यतै बस् म एक्लै हुन्छु । म आत्तिए, राजा साहेब नजिक थिए उनले सुनेछन् । तलाईं म यतै बुकुरो बनाई देउला यतै बस् मैया साहेबलाई सघाउनु । राजा साहेबको हुकुम कसरी काट्न सक्थे र त्यो दिनदेखि म कोठारमै बस्न थालें । कोठारमा धेरै कमैयाका परिवार बस्थे ।
सबैलाई कामको निर्देशन दिनुपर्दा मैया साहेबले म मार्फत दिनुहुन्थ्यो । पछि त राजा साहेबले पनि म मार्फत नै निर्देशन दिन थाल्लुभयो । कोठारको काम रेखदेख गर्नु, बिहानी भैसी दुहुनु, बालीनालीको किनबेच गर्न गुलरिया खैरापुर लानु अनि कोठारको लागि सामग्री किन्न नजिकको भारतको बजार बिछिया, नानपारा जानु मेरो काम हुन्थ्यो । त्यति बेलासम्म कोठारको सबै काममा म जाने भएकाले मेरो नाम कोठारी भैसकेको थियो ।
२०४६ सालतिर गाउँमा केही फरक प्रकारका मान्छेहरु देखिन थाले । खद्दरको कुर्ता लगाएका ,झोला भिरेका ति मान्छेहरु रातभरी गाउँमा बैठक गर्थे । कोठारमा मैयारानीहरुले कुरा गरेको सुनेको उनीहरु बहुदलवादी रे अनि हाम्रो कोठार चाही निर्दलवादी रे । काठमाडौँतिर बहुदल र निर्दलको ठूलो लडाई भइरहेको छ अनि गुलयिामा धेरै बहुदलवादीलाई पुलिसले थुनेर राखेको छ भन्ने कुरा पनि गाउँतिर खुब हल्ला भएको थियो । एकदिन रातिको बैठकमा के कुरा गर्दा रहेछन् भनेर म पनि पुगे । साह्रै जोशिलो कुरा गर्दा रहेछन् ।
अर्को दिन आफू बैठकमा गएको कुरा मैले मैया साहेबलाई बिन्ति बिसाए । मैया साहेबले अबदेखि नजानु र त्यहाँ गएको कुरा राजा साहेबलाई नभन्नु भन्नुभयो । राजा साहेब त्यति बेला प्रधानपञ्च थिए । त्यसपछि म कहिले पनि राति हुने बैठकमा गइन । केही दिनमा लौ गरिबका दिन सकिए कम्युनिष्टहरुले जिते ‘जसको जोत उसको पोत हुन्छ’ भन्ने हल्ला गाउँमा सुनियो । मैले काम लगाउने कमैयाहरु केहिदिन बटारिए । समयसंगै फेरि उस्तै दिन भए ।
राजा साहेबको प्रधानपञ्च सकियो । आजकल दिनभरी कमैयाका छोरीबेटी जिस्काउने, साँझ नपर्दै रक्सी खाने गर्नु दिनचर्या हुन थाल्ल्यो । मैया साहेबका छोराछोरी भएनन् । उहाँका दिनहरु धार्मिक क्रियाकलामा बित्न थाले ।राजा साहेबको जाँड रक्सी झन्झन बढिरहेको थियो । उहाँले घरको मतलव गर्न छाड्नु भएको थियो । मैया साहेब हप्तामा ३ पटकसम्म हुने धार्मिक ब्रतले गर्दा होला निकै कमजोर हुनु भएको थियो । म उहाँको सेवामा लागिरहन्थे ।राति दिशापिसाब पनि कोपरामा गर्नुपर्ने, रातभरी हेकृष्ण…, जपी रहने मैया साहेबको सेवाको लागि म आजकल कोठारकै पालीमा सुत्न थालेको थिए ।
केहिदिन भयो गाउँका भित्ता फेरि रंगिएका छन् । जनताको मुक्तिको लागि अर्को पार्टी आयो रे भन्ने गाइँगुईं चलेको छ । ठूलाठालू शोसकलाई नछाड्ने रे भन्ने हल्लापनि सुनियो । कमैयाहरु केही दिन भयो बटारिएका छन् । कमैयाकै केही छोराछोरी गाउँबाट हराए । नयाँ सेनामा भर्ना हुन गए भन्ने हल्ला सुनियो ।
एकदिन अचानक गाउँमा चहलपहल बढ्यो । गाउँका सबै मान्छेलाई गाउँको केन्द्रमा जम्मा पारियो । केही मान्छे आएर राजा साहेबलाई लिएर गए । मैया साहेब आत्तिनुभयो मलाई संगै जान भन्नुभयो । म पनि भीडको पछि लागे ।
गाउँमा नयाँ पार्टीको अदालत बसेको रहेछ । कमैयाकी छोरीले राजा साहेबले कुदृष्टि राखेको कुरा बताई । अदालतले फैसला सुनायो १०० पटक उठबस । मैले त्यो दृश्य हेर्न सकिन । कोठार फर्किएँ । दिन प्रतिदिन कोठार शून्य हुँदै थियो । सँधै आउनेहरु पनि आउन छोडे । यो वर्ष त खेतीपाती पनि सबै नयाँ पार्टीले लिएर गए । गाउँको अवस्था अब बस्न सक्ने थिएन । कोठारको सम्पति भनेको त्यही खेतीपाती थियो । त्यो पनि बन्द भएपछि असहज हुनु स्वाभाविक थियो ।
मैया साहेब र राजा साहेबहरु आफ्ना नातेदारको सहयोगमा नेपालगञ्ज सर्ने हुनुभयो । नेपालगञ्ज सम्म छोड्न म पनि जाने भए । नेपालगञ्जको गर्मी, सानो २ वटा कोठा देखेर म अक्क न बक्क भए । त्यो कोठारको चहलपहल अनि यो कोठा, मेरो लागि कहाली लाग्दो थियो । म हिँड्ने बेलामा मैया साहेबले आँखा पिलपिल पार्नुभयो । म रोकिने अवस्था थिएन । मैले बिदाईको हात जोडे । अचानक मैया साहेबले ओठ कमाउँदै भन्नु भयो कोठारी नफर्की …।
समय फेरिएर गयो । केही समय भारत बरालिएर आएपछि म अहिले नेपालगञ्जमा रिक्सा चलाउँछु । मैया साहेबको कब्जा गरेको जग्गा फिर्ता भएकोले अहिले उहाँहरुको जीवनमा सुधार भएको छ । राजा साहेब कता हो केमा समानुपातिकमा पर्नु भएको छ रे । मुक्तिको लागि युद्ध भन्दैन या सेनामा भर्ना भएका कमैयाका छोराछोरी अहिले म संगै रिक्सा चलाउछन् ।
नेपालगञ्जको यो गर्मीमा म कोठारी र नयाँ मुक्ति सेनाका ती सैनिक साथी भएका छौं । अझै पनि खुवा भएको मलाईवाला बरफ खान पाउदा खुशी हुने गर्छौं ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s