स्याडिस्ट समाज कि डिप्रेसिव समाज !

भद्र सहमति र विमतिका लागि पुन: अपिल……….यो सोसियल मेडियामा अत्यन्त बढी सक्रिय वरिष्ठ पत्रकार रबिन्द्र मिश्रले बेला बेलामा सोसियल मिडियाका आफ़्ना मित्रहरुलाई गर्ने अपिल हो | हुन पनि उनका पोष्टमा आउने कतिपय प्रतिक्रिया आम नेपालीले आफ़्नो परिवार र छोराछोरी संग बसेर हेर्न मिल्ने खालको हुदैनन् l यो कुरा उनमा मात्र होइन सबै लेखकमा लागु हुने कुरा हो | आजकल खास गरि अनलाइन समाचारका माध्यममा छाएका समाचार र त्यसमा आउने कमेन्ट हेर्ने हो भने यस्तो लाग्छ ,हाम्रो समाजमा सकारात्मक कुरा भनेको केहि पनि बाँकि छैन | कुन सहि र कुन गलत भन्ने कुरामा हामी राजनीतिक दल जस्तै विभाजित छौं | प्रत्येक कुरामा हामी यति उत्तेजक ,नकारात्मक, निराशावादी र हतास मनस्थितिमा हुन्छौं , जसको कारण कुनै कुराको भद्र र तार्किक छलफल नै हुन सक्दैन l अधिकांश परिस्थिति यस्तो देखिन्छ कि कुराको गहिराईमा नपुगी हामीबाट प्रतिक्रिया आउँछ | यी सबै कुराले यस्तो लाग्छ हामी सामाजिक रुपमा नै निराशावादी र नकारात्मक सोचका धनि भै सकेका छौं |

के हामी स्याडिस्ट हौ ?
केही समय अघि संसदीय सुनुवाईमा आमन्त्रित न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठले सभासदहरुलाई जवाफ दिने क्रममा एउटा गम्भीर विषयलाई प्रवेश गराएका थिए | उनले नेपाली समाज र बिशेष गरि पत्रकार वर्गलाई स्याडिस्टको रुपमा चित्रण गरेका छन् | तत्कालिन विषय फरक प्रसङ्गमा भएको र उनले सायद त्यतिबेला आफु पत्रकारबाट बढी पिडित भएको महसुस गरेको कारणले पत्रकारलाई बढी स्याडिस्ट भनेको हुनसक्छ | उक्त्त अवस्थामा उनले पत्रकार संगको रिसको रुपमा त्यो धारणा राखेको देखिए पनि उनले गरेको संकेतले बिशेष अर्थ राख्छ | स्याडिस्टहरु पीडामा रमाउने हुन्छन | यो नकारात्मक सोचको चरम बिन्दु हो | मनोविज्ञानको भाषामा भन्ने हो भने यो एउटा गम्भीर मानसिक समस्या हो | सकारात्मक (पोजिटिव) मनोविज्ञानमा एउटा प्रसङ्ग धेरै उल्लेख हुन्छ; “आधा पानी राखिएको गिलासलाई आधा भरिएको छ भन्ने कि आधा खाली छ” भन्ने ,दुवै उत्तर सहि भएता पनि मनोविज्ञानका ज्ञाताहरु आधा खाली छ भन्नुलाई नैराश्यपनको सूचकको रुपमा लिने गर्छन | हाम्रो समाज स्याडिस्ट छ भन्नुको अर्थ अहिले हामी गिलास लाई आधा खाली देखिरहेका छौं | हाम्रो वरिपरि भैरहेका राम्रा कुरा भन्दा नराम्रा कुरामा हाम्रो चासो छ | हामी सबैमा आक्रोश ,डर ,बेचैनी ब्याप्त छ जुन कुनै न कुनै रुपले प्रकट भैरहेको छ l समाचारको रुपमा आउने सनसनीपूर्ण समाचार हाम्रो प्रमुख रोजाई हुन पुग्छ | त्यस्ता समाचारले हामीलाई मनोरंजन प्रदान गर्नुको साथै देशमा भै रहेको गतिविधिको बारेमा जानकारी दिन्छ | पाठकले त्यस्तो समाचार बढी हेर्ने हुँदा स्वाभाविक रुपमा पत्रकारले पनि त्यस्तै समाचारको खोजिमा बढी समय बिताउँछन | संचारक्षेत्र भित्रको प्रतिस्पर्धाले अझ यस्ता क्रियाकलापलाई थप मलजल गरेको हुन्छ |

किन हुन्छ यस्तो ?
यसको बृहत कारण खोज्ने हो भने देशमा भैरहेको लामो राजनीतिक अस्थिरता प्रमुख कारण हो | देशका सरोकारवाला र राजनीतिक व्यक्तित्त्व प्रतिको वितृष्णा आम जनमानसमा बढ्दै गैरहेको छ | विशेषत, राजनीतिमा देखिएको असफलताले जनताको मनमा कुठाराघात गरेको छ | परिणाम स्वरुप अहिलेको विद्धमान अवस्था जस्तै नकारात्मक सोच र नैराश्यपनको हाली मुहाली भएको हो | यस बाहेक भ्रष्टाचार, प्रसाशनिक ढिलासुस्ती ,दण्डहीनता , बेरोजगारी आदि यसका अन्य कारण हुन् l हामीसंग खाली समय धेरै छ ,जसको कारण रुचि पनि धेरै विषयमा छ | एउटा डाक्टर यति फुर्सदिलो छ, उसले राजनीतिक लेख लेखन ,कुनै धर्नामा सहभागिता जनाउँन, फेसबुकमा नेतालाई गाली गर्न, भएभरको पत्रिका पढन सबै भ्याउँछ | यहाँ डाक्टर उदाहरण मात्र हो यस्तो क्रियाकलाप प्राय सबै पेशा अंगाल्ने पेशाकर्मीको दीनचर्यामा छ | आफनो क्षेत्रको ज्ञान भन्दा हामीमा अरु क्षेत्रको ज्ञान बढी छ | युवावर्गको निम्ति रोजगारी नहुँदा निराशा ब्याप्त छ | उसको निराशा यति गहिरो छ कि आफु पढने क्याम्पस वा विश्वविद्यालयको गाडी जलाउँदा पनि उसलाई म गलत गर्दै छु भन्ने कुराको बोध हुदैन | किनकि साथीभाईको अगाडी त्यो उसको बहादुरी हुन जान्छ | हामीहरु यति धेरै आत्मारति भएका छौ कि आफ्नो फाइदाको लागि सेतोलाई कालो ,कालोलाई सेतो भनेर प्रमाणित गर्न ज्यान फालेर लाग्छौ | त्यहि संस्कार हामीले हाम्रा आउने युवा पिंढीलाई दिंदै छौं |
समाजबाट प्राप्त हुने नैतिक शिक्षाको क्षेत्रमा पनि हामी फितलो सावित भएका छौं | हामी त्यो समाजका अंग हौँ जहाँ कर्मचारी भन्सारमा सरुवा हुँदा खसी काटेर खाने गरिन्छ अनि हुलाकमा सरुवा हुँदा दु:ख मनाउ गरिन्छ | आफ्नो छोराछोरीले अरु केटाकेटि लाई पिट्दा हाँसेर ढाड सुम्सुम्याइन्छ अनि अरु केटाकेटि बाट पिटाई खाँदा तथानाम गाली गरिन्छ | अनि कसरि सिक्छन ति हुर्कदै गरेका बाल मस्तिष्कले जसलाई काँचो माटोको संज्ञा दिई उक्त अवस्थामा हामीले जे बनाउँन खोज्यो त्यहि हुन्छन भनेर सिक्ने हामी जस्ता समाज सुधारक र देश निर्माताको त्यस्तो कार्यले?

यसको अन्तिम स्वरूप कस्तो हुन्छ ?
निराशा सधै स्थिर हुदैन, यसको गतिशिलता संगै अन्तत: यो कुनै स्वरूपमा प्रकट हुन्छ |जुन स्वरूप सकारात्मक अथवा नकारात्मक दुवै हुन सक्छ | माओबादीले गरेको १० वर्षे युद्दको कारण जसले जे भने पनि यसको मुलभूत कारण सामाजिक निरशा नै थियो | त्यसपछिको मधेश आन्दोलन पनि एउटा वर्ग विशेषको निराशाको प्रतीकको रुपमा बिस्फोट भएको थियो | ति दुवै आन्दोलनले शान्तिपूर्ण रुपमा विश्राम त पाए तर जनताको निराशालाई कम गर्न दुवै आन्दॊलन असफल भए l जसको फलस्वरूप समाजको निराशा जस्ताको त्यस्तै गरि फेरी मौलाउदै गयो | नेपाली जनता प्रयोगबादी छन् भन्ने कुरा त पछिल्लो विभिन्न कालखण्डले पुष्टि गरेको छ | अब यो पछिल्लो निराशालाई नेपाली समाजले कसरि प्रयोग गर्ने हो त्यो भने भावी दिनहरुले बताउने छन् |

प्रेश्क्रिप्सन के होला ?

धेरै मनिसहरु नैराश्यतालाई गरिबी संग जोड्छन् तर त्यो सत्य होइन । यदि सम्पन्नताले खुसि आउँदो हो त जापानमा किन प्रत्येक दिन आत्महत्या हुन्छ ? अथवा ह्याप्पिनेस स्केलमा भुटान किन अमेरिका भन्दा माथि छ?

सामाजिक नैराश्यताको एउटा मात्र प्रेस्क्रिप्सन सकारात्मक सोच हो । चेतना र साक्षरताको सुरुवात परिवार र समाजबाट हुनुपर्छ ,विश्वविद्यालय र स्कूलमा त यसको विकास हुने मात्र हो । जुन समाज प्रति हामी गर्व गर्छौं त्यही समाजमा विद्यमान सकरात्मक सोचले मात्र हामीलाई स्याडिस्ट हुनबाट बचाउने छ।

त्यो सोच सामाजिक एकीकरण बाट मात्र सम्भव छ । विचारहरुको एकीकरण गर्न समाजका अगुवाहरुले विशेष भूमिका खेल्नु पर्ने देखिन्छ । समाजको विकास भनेको कूल गार्हस्थ उत्पादन (जी.डी.पी.) आएको प्रगति ले मापन गरिँदैन ,जबसम्म समाजको आध्यामित्क, भौतिक,सामाजिक , वातावरण र मानसिक स्वरूपले विकास गर्दैन तबसम्म यो क्रम चलिरहनेछ ।

source * http://www.mysansar.com/2014/06/12834/

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s