असल ज्वाईं

डा. विजय ज्ञवाली-
क्लिनिकल मनोविज्ञ

असल बुहारी बन्न केही गुण अपनाउनुस् शीर्षकमा एउटा पत्रिकामा महिला लेखिकाको लेख आएपछि एकजना समाजशास्त्रीले सामाजिक सञ्जालमा छलफलको विषय बनाउनु भयो। छलफलमा भाग लिएका कतिपयले यसलाई पुरुष खराब भएकाले असल बुहारीको बारेमा लेखियो भन्ने मोड दिए भने कतिपयले ती महिला लेखिकालाई निरीह सोच भएकी भनेर टिप्पणी गरे। तर ती समाजशास्त्रीले उठाउन खोजेको विषय निकै गम्भीर थियो। उनको आशय थियो, असल बुहारीको गुणको बारेमा पत्रिकामा लेख आउने गरी हाम्रो समाजमा छलफल हुन्छ। तर असल श्रीमान, असल ज्वाईं बन्ने तरिका बारे किन खासै चर्चा हुँदैन? वास्तवमै उनले भने जस्तै असल ज्वाईं बन्ने तरिकाको बारेमा हामी कहाँ छलफल हुँदैन।

विवाह भएको १ वर्ष पनि नपुगेको र आफ्ना सासुससुरालाई दुई पटकभन्दा बढी नभेटेको मेरो लागि यो विषय कौतुहलताको विषय बन्न गयो। मेरी श्रीमती बिहे भएको एक वर्ष नबित्दै परिवारमा सबैको प्रिय भएकी छन्। यो उनको व्यक्तिगत गुणको कारणले पनि सम्भव भएको होला। तर यो छलफलले एउटा विचारणीय प्रश्न ल्याएको छ, के यो ६ महिनामा म असल ज्वाईं भएको छु त? असल ज्वाईं बन्ने तरिका के होला? यी प्रश्न कसैको निम्ति अर्थहीन हुन सक्छ तर हामी लैँगिक समानताको कुरा गर्छौ भने यसले अर्थ राख्न सक्छ।

श्रीमानको हिंसाबाट पीडित महिला र दाइजो जस्ता विविध सामाजिक विकृतिको कारण श्रीमानबाट मारिएका, जलाइएका समाचार दिनहुँ जस्तो आउने हाम्रो समाजमा हामीले धेरै खराब ज्वाईंहरु देखिसकेका छौं। यो अवस्थामा एउटा बाबु र आमाको निम्ति असल ज्वाई खोज्नु कम्ति चुनौतिपूर्ण छैन होला। अनि यी खराब ज्वाईंहरुको बीचमा आफूलाई असल ज्वाईँ प्रमाणित गर्नु ज्वाईँहरुको निम्ति पनि चुनौती हुनसक्छ।

असल बुहारी हुनको निम्ति हामी हाम्रा छोरीहरुलाई सानैदेखि पकाउनेदेखि लुगा धुनेसम्म सिकाउँछौँ। तर छोराहरु बिहे गर्ने हुँदासम्म पनि मुस्किलले चिया बनाउन सक्ने भएका हुन्छन्। जसरी असल बुहारी बन्नको निम्ति हामी आफ्नी छोरीलाई तालिम दिन्छौं, त्यसरी असल ज्वाईंको आचरण यदि हामीले हाम्रा छोराहरुलाई सिकाउने हो भने वर्षेनी ज्वाईँको हातबाट हुने छोरी हिंसाका खबर कम हुने थिए। ज्वाईंको हातबाट असुरक्षित भएका छोरीहरु सुरक्षित हुने थिए।

हामीले समाजमा धेरै राम्रा ज्वाईँ पनि देखेका छौ जसलाई हामी जोइटिङ्ग्रे भन्न बाँकी राख्दैनौ। श्रीमानको झोला बोकेर हिँड्ने हाम्रा छोरी हामीले सजिलै पचाएका छौं तर छोरीको झोला बोकेर हिँडेको ज्वाई हाम्रो निम्ति जोइटिङ्ग्रे हुन जान्छ। छोरीलाई दिनभर तीजको ब्रत बसालेर आफु म्यारिज खेल्न बसेको ज्वाईँलाई हामी बहादुर मान्छौँ भने हामीले असल ज्वाईको अपेक्षा नगर्दा नै हुन्छ।

लैङ्गिक समानताको अर्थ पुरुषले महिलालाई अनि महिलाले पुरुषलाई गाली गर्नु होइन। जबसम्म हामीले आफ्ना छोरालाई असल ज्वाईं हुन सिकाउँदैनौ, तबसम्म हामीले लैंङ्गिक समानताको सही अपेक्षा नगर्दा नै हुन्छ। तसर्थ ती समाजशास्त्रीले भने जस्तै असल ज्वाईँ असल श्रीमान् र असल छोरा बन्ने तरिकाको बारेमा पनि लेख लेखियोस्।

estranged_husband_to_pay_home_emis

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s