साकुरा

डा. विजय ज्ञवाली

शनिबारको दिन घरको वातावरण अलिक फरक हुन्छ | अन्य दिन हतारमा हुने परिवार अलि सुस्ताएको हुन्छ | मेरो तिनजनाको परिवारको भेट वास्तवमा शनिवारको कारण मात्र सम्भव हुन्छ अन्यथा अरु दिन भेट हुन लगभग असम्भव जस्तै हुन्छ | म भर्खर नुहाएर कौसीमा निस्केको थिएँ , भित्रबाट छोरी साकुराले बाबा तपाईको फोन भनेर बोलाई | “म त केहि बुझिन तपाईको नाम मात्र बुझे | जापानी भाषामा बोले जस्तो लाग्यो |” उसले विस्तार लगाई | जापानबाट फोन भने पछि श्रीमती पनि उत्सुक हुदै पछि लागिन | छोरी साकुराको नाम जापानी भए पनि उसको जापान संग कुनै साइनो थिएन | म २ वर्ष जापान बसेको थिएँ | तर फर्केको १० वर्ष भै सकेकोले मेरो पनि जापान संग कुनै साइनो थिएन | जापानबाट आउने फोन मेरो लागि पनि आस्चर्य थियो | श्रीमती र छोरी मलाई हेर्दै थिएँ | मैले फोन उठाएँ |

हेल्लो ….बिनोद ….हिसासीवुरी ओ गेंकी देसका ?

मेरो शरिर चिसो भयो | म आवाज चिन्थें | फेरी उताबाट धेरै समय भयो ,तिमि सन्चै छौ ? भनेर नेपालीमा आवाज आयो |

तिमि नेपाली पनि बोल्दि रहिछौ | मैले आफुलाइ श्रीमती र छोरीको अघि सहज बनाउने प्रयास गरे | उनिहरु मुखामुख गर्दै थिए | म अतितमा टोलाउन थाले |

देश जनयुद्दको चरम उत्त्कर्षमा थियो | रोल्पाबाट भागेर नेपालगंज पुगेको हाम्रो परिवार फेरी रोल्पा फर्किन सक्ने स्थिति थिएन | पूर्व प्रधानपंच रहेका हाम्रा बाउ प्रधानपंच भएकै आधारमा सामन्ती ठहरिएका थिए | कहिले नेपालगंज नै पो हानछन् रे, कहिले अपहरण गर्छन रे भन्ने हल्लाका बिच हामीले आफुलाई सुरक्षित हुन प्रहरी चौकीको आसपासको घर डेरा लिएका थियौं | हामी त सुरक्षित भयौं तर भर्खर १० कक्षामा पढ्ने बहिनी चाहिं त्यहि प्रहरी चौकीको प्रहरी संग हिडी | हाम्रो परिवार चरम निराशाबाट गुज्री रहेको थियो | भएको सम्पत्ति रोल्पामा छोडेर हिडेको हाम्रो परिवार नेपालगंजको गर्मी संग बिस्तारै अभ्यस्त हुँदै गए पनि समस्याको पहाड झन् पछि झन् थपिदै थियो | म भर्खर आइ. ए. सम्मको पढाई सकेर बसेको थिएँ | त्यो बेला साथीभाईमा विदेश जाने लहर चलेको थियो | त्यो रहरले मलाई पनि छोयो | भर्खरकी छोरी हिडे पछि छोरा पनि कतै कुलत तिर लाग्ने हो कि भन्ने डर बाबु आमामा पनि थियो | भारतको उपड़िया नजिक भएको नेपालगंजमा खुला बोडरका कारण छोराहरु कुलतमा फस्ने सम्भावनाका कारण त्यहाँका धेरै बाबु आमा चिन्तित रहन्छन | त्यो डरले गर्दा मैले बाबु आमाबाट विदेश जाने स्वीकृतिको निम्ति खासै संघर्ष गर्नु परेन | भाग्य बलियो हो कि मैले विदेश जाने विचार गरेको ६ महिनामा एकजना दाजु मार्फत जापानको नारिता एअरपोर्टमा ओर्लिए | चिया बनाउन पनि नजानेको मलाई कुकको रुपमा जापान कागताली परेको थियो | लगभग २ महिनाको भाषा कक्षाले मलाई टाउको झुकाउनमात्र सिकाएको थियो | टाउको झुकाउनुको शक्ति मैले पहिलो पटक देखें | जापानको अध्यागमनमा टाउको झुकाएर आफ़्नो कागजपत्र र पासपोर्ट अगाडी राखी दिए पछि मैले अर्को शब्द बोल्न नै परेन |

बिहान ९ बजेदेखि साँझ ११बजे सम्म हुने हाम्रो काममा मेरो काम नानरोटि राख्ने हुन्थो | २/४पटक आगोको भुंग्रोमा हात झोसीसकेपछि मैले नान बनाउने शिपमा विजय प्राप्त गरेको थिएँ | हात पोलिने कामको जिम्मा मैले लिएपछि मेरा सहकर्मी दाईहरु पनि खुसिनै थिए | लामो काममा प्राप्त हुने २ घन्टे ब्रेक हाम्रोलागि सार्है प्यारो थियो | राति काम सकेर आएपछि नसुतुन्जेलसम्मको समय भने मेरोनिम्ति संघर्षपूर्ण नै हुन्थ्यो | एकातिर बाग्लुङ्गे दाईको लोकगीत अर्कोतिर स्याग्जाली दाईको बिबिसी नेपाली सेवा त्यो दुवै मैले एकैपटक सुन्नुपर्थ्यो | मलाइ भने नेपालगन्जको लक्ष्मीटाकिजमा हेरेका हिन्दि फिल्मको प्रभावले होला लोकगीत र बिबिसी दुवैमा पटक्कै रुचि थिएन | त्यसैले उनिहरु सुतेपछि म भने कुमारसानुको गीत मधुरोगरि बजाएर सुन्थें ,घुङ्घट कि   आड पे दिलबरका ……

हामी कुकका लागि जापानमा विभिन्न समस्या थिए | त्यसमध्येको प्रमुख समस्या भाषा थियो | रेस्टुरेन्टमा बोल्ने सिमित भाषाबाहेक अरु भाषा नआउने समस्याबाट मपनि पिडित थिएँ | भाषा समस्याकै कारण हप्तामा प्राप्तहुने १ दिने बिदामा पनि मैले घरमै बसेर बिताउनु पर्नेहुन्थ्यो | घरनजिक रहेको सानो बगैचाको बेञ्चमा बसेर म दिन काट्थे | मेरो लागि जापान त्यहि बगैंचामा सिमित भएको थियो | बसन्तऋतुले जापानलाइ पनि छोयो | प्रकृतिले आफ़्नो सुन्दरताको मार्फत सबैलाइ आस्चर्यमा पार्न थालिन | बगैचामा रहेका साकुराका फुलहरु फुल्न थाले | साँझमा चल्ने चिसो बतासमा ढकमक फुलेका फुलमुनि म स्वर्गको अनुभूति गर्थें | अनि बेलाबेलामा आकाशमा देखिने बादलका झुण्डहरु देखेर तर्सिनेगर्थें | कतै ति बादलले पानीलाइ पठाएर खुसिरुपी यी साकुराका फुललाइ झारीदिने हुन् कि भनेर घरि आकाश र घरि फुललाइ हेर्दै टोलाउँथें |

साकुराको फुल फुले संगै बगैंचामा बिस्तारै मान्छेको भिड हुन थाल्यो | नियमित आउने अन्य मानिससंग अभिबादन सगै केहि संग चिनजान पनि हुन थाल्यो | त्यहि भिडमा एक दिन तिमि पनि थपियौ | बस्ने ठाउँको अभावमा तिमि मेरै बेञ्चमा बस्न आएकी थियौ | मैले बोल्ने प्रयास गर्दा तिमिले केहि अप्ठारो माने जस्तो महसुस भयो | धेरै जापानीहरु बिदेशी संग बोल्न अप्ठ्यारो मान्छन | मैले त्यहि सोचें र चुप लागें | हामी नबोली त्यहि बसी राख्यौं | बगैंचामा मानिस रित्तिए ,हामी भाव सुन्य भयौं , जुनकिरिको आवाज एक तमास गुन्जी रह्यो |

अर्को पल्ट म पुग्दा तिमि पुगी सकेकी थियौ | म त्यहि बेञ्चको छेउमा बसें , सायद खुसि थियौ सुरुमा नै मुस्काएर स्वागत पाएँ | यो पल्ट मैले बोल्ने मौका छोडिन | जापानी संग बोल्ने रहर पुरा भयो | मैले जानी नजानी तिमि संग धेरै कुरा गरें | मान्छे पातलिन थाले , शुन्य बगैंचामा हामीले धेरै समय बितायौं |

बर्षाले साकुरालाइ धेरै दिन टिक्न दिएन | जसै जसै साकुराको नयाँ पालुवा मौलाउन थाल्यो त्यसरी नै हामी बिच प्रेमको अंकुरण हुन थाल्यो |हामी बिदाको दिन संगै हुन थाल्यौ | हामी बीचको वार्ता सिमित हुन्थे | तिमिले बोलेका अधिकांस कुरा म बुझ्दैनथें तर सुन्थें | तिमिलाई त्यो थाहा थियो | आफ्नो कोठा भन्दा म तिम्रो कोठामा बढी हुन थालें सायद मेरा साथीहरुको लोक गीत र बि. बि. सी. बाट म आजित भएको थिएँ | मेरा साथीहरु तिमिलाई भाउजु भन्थे तिमि नबुझेर हास्ने गर्थौ | म जापानी प्रेमिका पाएकोमा दङ्ग पर्थें |साथीहरु तिमि मेरो निम्ति जापानको भिसा हौ भन्थे | म फिस्स हास्थें |मैले तिम्रो र मेरो सम्बन्धको बारेमा केहि सोचिन | यो चाही सत्य हो म तिमिसित भेट हुने बिदाको दिन पर्खेर बस्थें | म अझै पनि अन्योलमा पर्छु त्यो बासना मात्र थियो कि त्यसमा प्रेम पनि थियो |यो छुटाउनु अघि नै हामीले हाम्रो सिमा सबै पार गरिसकेका थियौं | म बिस्तारै तिम्रो कोठामा नै बस्न थालें | साहुले थाहा नपाओस भनि दाइहरु कुरा मिलाई दिन्थे | बगैंचाका साकुराका बोटहरु साकुरा बिहिन भैसकेका थिए तर मेरा मनका साकुराहरु बल्ल कोपिला लगाउने तरखर गर्दै थिए |तिमि कहिले कहिँ मलाई प्रश्न गर्थौ ,बिनोद तिमिलाइ साकुरा एकदम राम्रो लाग्छ हो ? मैले मेसो नपाइ हो भन्थें | त्यसो भए भोलि पर्सि साकुरालाइ नेपाल लिएर जाऊ है | म हुन्छ भन्थें |

एक दिन सधै जसो रेस्टुरेन्टमा काम गरिरहेको थिएँ | नेपाल बाट फोन आयो | साधारणतया नेपालबाट फोन आउदैनथ्यो बरु म नै फोन गर्थें केहि अनिष्ट   भयो कि भनेर मन आत्तियो | फोन उठाएँ | ” छोरा बुबालाई माओबादीले लिएर गए” आमाको स्वर अत्तालिएको थियो | शान्ति वार्ताका लागि माओवादीका नेता काठमाडौँमा देखिएका थिए | अब त केहि नहोला भनि बुबा घर हेर्न रोल्पा जानु भएको उत्तैबाट लिएर गएछन् | म अधैर्य भएँ | मन छटपटाइ रहेको थियो | साहुलाइ पीडा सुनाएँ | आर्थिक मन्दीले रेस्टुरेन्ट चल्न छाडेको बेला नेपाल जान्छु भन्दा साहुले नमान्ने कुरा भएन | मैले सहकर्मी दाइहरु संग पीडा पोखें | उनिहरुले फर्केर आउँदा सम्म जागिर बचाई दिने बाचा गरेर सान्त्वना दिए | अनि बुबा खोज्न म जापानबाट रोल्पा हानिएँ |

तिम्रो फोनको १० दिनपछि म फेरी जापानको नारितामा ओर्लिएँ | घरमा श्रीमती र छोरीका आँखामा थुप्रै प्रश्नहरु थिए | तर उनिहरुले मुख खोलेनन् | धन्न उनिहरुको प्रेम र माया ,म उनिहरुको निम्ति होचो साबित भएको थिएँ | श्रीमती डराएकी थिइन | मैले हिड्नेबेलामा उनको अघि आँखा झुकाएं अनि छिटै फर्केर आउछु भनें | सायद उनि त्यहि सुन्न चाहन्थिन | उनको अनुहारमा सन्तोषको चहक देखियो |

तिमिले पठाएको मानिसको पछि लागेर म टोक्यो भित्रिए | रेलबाट हेर्दा बाटोको छेउमा फुलेका साकुरा मसंगै दौडिएका छन् कि भन्ने भान पर्दै थियो | त्यहि साकुरा जो मेरा दुखका साथी थिए आज फेरी यत्रो वर्षपछि पुन मसंग दौडिरहेका थिए | म किन तिमिलाई भेट्न जाँदै थिएँ एकदम अनुत्तरित थिएँ | तिमिले बोलायौ म आएँ | त्योबाहेक मसंग अर्को कारण थिएन तर मलाई थाहा छ त्यो कारण पूर्ण थिएन | मलाई सबै कारणहरू पूर्ण र स्पस्ट हुन्छन जस्तो लाग्दैन | तिम्रो आग्रहको अगाडी एउटा पती र पिता झुकेको थियो | मलाई थाहा छ यो यात्रा पछि मैले घरमा एउटा अग्निकुण्डको सामना गर्नुपर्ने छ र सीताले जस्तै आफुलाई असल पती र पिताको रुपमा प्रमाणित गर्नु पर्नेछ|

तिम्रो मानिसले मलाई सिधै अस्पताल लिएर गयो | म उसको पछाडी पछाडी लागेर हिडी रहेँ | उसले मलाई एउटा कोठामा लगेर छोडीदियो | जहाँ तिमि लम्पसार परेर सुतेकी थियौ | मलाई तिम्रो प्रश्नको डर थियो | तिम्रो प्रश्नले मलाई घेर्नेछन भनी म डराएको थिएँ | तर तिमि एकदम शान्त थियौ | म हजार बहाना लिएर तिम्रोसामु उपस्थित भएको थिएँ | तर मेरा बहानाहरु बासी साबित भएका थिए | नजिकै उभिएकी बालिकाको एकजोडी आँखाले म ढिलो भएको संकेत गर्दै थिए | ति सानी बालिकाको अनुहारमा मैले मेरी छोरी साकुराको प्रतिबिम्ब देखें | उसका आँखा म संग केहि बोल्न खोजेको जस्तो लाग्दैथियो | त्यतिनैबेला कोठामा पसेका केहि व्यक्तिले साकुरा अब हामी फर्किनुपर्छ भनेर ति बालिकालाइ बाहिर लिएर गए | जानेबेलासम्म साकुराले मलाई हेरीरही र म भावशुन्य व्यक्तिको रुपमा परिणत भएको थिएँ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s