सिजोफ्रेनिया , फिल्म र भ्रम

डा. विजय ज्ञवाली, क्लिनिकल मनोविज्ञ

केही समयपहिले सोसल मिडियामा हिन्दी भाषामा बनेको छोटो फिल्म ‘कृति’ र नेपाली भाषामा बनेको ‘बब’को चर्चा सुनियो। एकले अर्कोलाई चोरी गरेर बनाइएको आरोप-प्रत्यारोपका कारण दुवै फिल्मले चर्चा बटुले।

दुवै फिल्मको कथामा समानता छ। दुवैका मुख्य पात्र सिजोफ्रेनिया रोगबाट पीडित छन् र दुवै फिल्मले सिजोफ्रेनियाका कारण उत्पन्न दृष्टिभ्रम र ध्वनिभ्रमलाई विषयवस्तु बनाएका छन्। भ्रम र वास्तविकताको अन्तरद्वन्द्वका बीच ती पात्रबाट हुने गम्भीर गल्तीसँगै फिल्म सकिएको छ।

दुवै निर्देशकले क्यामेराको मुभमेन्ट, दृश्यको रंगको प्रयोगले मुख्य पात्रलाई एउटा अनौठो र अजीव पात्रको रुपमा विकास गर्न मेहनत गरेको देखिन्छ। तर यहाँ प्रश्न उठ्छ, के सिजोफ्रेनियाका बिरामी साँच्चिकै त्यस्तै हुन्छन्?

52912329

आमसञ्चार विशेषगरी फिल्म र साहित्यमा सिजोफ्रेनियाका बिरामीलाई हिंसक, अपराध मनोवृत्ति भएका, अल्कोहोलिक, ड्रग प्रयोगकर्ता, हास्यास्पद, शंकालु र निको नहुने रोगी पात्रको रुपमा प्रस्तुत गरिएको हुन्छ। कतिपय ठाउमा सिजोफ्रेनिया भएका व्यक्तिलाई बाल्यकालमा हिंसाबाट पीडित, एक्लो, असामाजिक र एकदम विचित्र प्रकारको व्यक्तिको रुपमा प्रस्तुत गरिएको हुन्छ। विभिन्न माध्यममा हुने सिजोफ्रेनियाको यस्तो प्रस्तुतिले रोगसित सम्बन्धित रहेर जानकारी र जनचासो बढाउन सहयोग त पक्कै गर्नेछ, सँगसँगै केही भ्रमलाई बढावा त दिएको छैन?

के हो सिजोफ्रेनिया?
सिजो अर्थात् टुक्रिएको। फ्रेनिया अर्थात् मन। यी दुई ग्रीक शब्द मिलेर सिजोफ्रेनिया बनेको हो।

सिजोफ्रेनिया जटिल मानसिक समस्या हो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्याको लगभग १५ प्रतिशत व्यक्ति विभिन्न मानसिक समस्याबाट पीडित भएकोमा १ प्रतिशत सिजोफ्रेनिया जस्तो गम्भीर मानसिक स्वास्थ्यबाट पीडित छन्। यो विशेषगरी मानिसको सोच्ने प्रक्रियामा आउने गम्भीर समस्या हो। जसले मानिसको जीवनमा विभिन्न भ्रमको सिर्जना गर्छ। वास्तविकतामा हुँदै नभएको कुरामा विश्वास गर्नु, अरुले नसुनेका र हुँदै नभएका आवाज सुन्नु जस्ता लक्षण यसमा देखा पर्छ। अस्वाभाविक व्यवहार, डर, चिन्ता, शंकास्पद गतिविधि, मूर्तिझैं उभिइरहने, अकारण अस्थिरता पनि यसको लक्षण हो। अरूले नसुन्ने ध्वनि, दृश्य, गन्ध आदि महसुस गर्ने, कुनै धर्म, दर्शन वा विचार विशेषमा अत्यधिक अडान लिने, पूर्वाग्रही विचार बनाउने जस्ता लक्षण पनि सिजोफ्रेनियाका रोगीमा देख्न सकिन्छ।

यी लक्षण कमसेकम एक महिनासम्म रहिरहेमा सिजोफ्रेनिया भनिन्छ। साधारणतया यो समस्याको सुरुवात १३ देखि २४ वर्षको उमेर समूहमा बढी हुने गर्छ। नेपालमा सिजोफ्रेनियाका बिरामी कति छन् भने आँकलन गर्न अझै सकिएको छैन। सिजोफ्रेनिया र अपराध सम्बन्धी कुनै अनुसन्धान बाहिर आएको छैन नेपालमा। उपचारको अभाव र मानसिक रोगको बारेमा व्याप्त भ्रमका कारण उपचार अभावमै यसका बिरामी अझै पनि घरमा सिक्रीले बाँधिन र थुनिन विवश छन्। बेलाबेला आउने यस्ता घटना तपाईंले पत्रपत्रिका मार्फत पढ्नुभएकै होला।

सिजोफ्रेनिया र अपराध
विभिन्न फिल्म र साहित्यमा सिजोफ्रेनियाका बिरामीलाई अपराधीको रुपमा चित्रण गरिएको हुन्छ। तर अझसम्मका अनुसन्धानले सिजोफ्रेनिया र अपराधको सम्बन्धलाई पुस्टि गर्दैन। सिजोफ्रेनियाका बिरामी मार्फत भएका अपराधका अधिकांश घटना सिधै उक्त रोगसित सम्बन्धित नभएर उसले प्रयोग गर्ने लागुपदार्थ र अल्कोहोलसित सम्बन्धित भएको विज्ञहरु बताउछन्।

यदि सिजोफ्रेनियाका बिरामीलाई नियमित उपचार र समयमै व्यवस्थापन गरेको खण्डमा ती अपराधको सम्भावना रहँदैन। यसै पनि मानसिक रोग र अपराधबीच ठूलो सम्बन्ध पाइँदैन।

सन् २००६ मा स्वीडेनमा गरिएको अनुसन्धानमा २० वटा अपराधजन्य घटना मध्ये एउटा घटनामा मात्र अपराधिक मानसिकता बोकेको रोगी फेला परेको पाइएको छ। अर्थात् १९ वटा अपराधका घटनाले मानसिक रोगसित कुनै सम्बन्ध राख्दैन। सिजोफ्रेनिया र हिंसाको सम्बन्ध हुँदै नभएको होइन। यस्ता बिरामीले गर्ने हिंसामध्ये आफैंप्रति गर्ने हिंसा अर्थात् आत्महत्या प्रमुख रुपमा रहन्छ। यसबाहेक सिजोफ्रेनियाका बिरामी असन्तुलित हुनुमा विगतमा पनि हिंसाजन्य कार्यमा संलग्न, मादक पदार्थ र ड्रगको प्रयोग, औषधिको प्रयोग नगर्नु, अत्यधिक भ्रमको अवस्थामा भने सिजोफ्रेनियाका बिरामीबाट हिंसा हुने सम्भावना रहन्छ।

सिजोफ्रेनिया र व्यक्तित्व
सिजोफ्रेनियासित सम्बधित अधिकांश फिल्ममा यसका बिरामीको व्यक्तिवलाई निकै जटिल, अप्ठेरो, शंकालु र कुटिल प्रकारले प्रस्तुत गरिएको हुन्छ। वास्तविकतामा अधिकांश पीडित त्यस्ता हुँदैनन्। केही समयदेखि यो क्षेत्रमा कार्यरत यो पंक्तिकारले आफ्नो सम्पर्कमा रहेका बिरामीले सामान्य व्यक्तिसरह व्यक्तित्व बोकेर जीवनयापन गरेको देखेको छ। वातावरणमा सहजीकरण र निरन्तर उपचार भएको खण्डमा सिजोफ्रेनियाका बिरामीले समाजमा योगदान दिन सक्छन्। उनीहरु सामान्य व्यक्तिसरह नै काम गर्न सक्छन्। तसर्थ सिजोफ्रेनियाका बिरामीको व्यक्तित्व अनौठो हुन्छ भन्ने प्रस्तुतिकरणले भ्रम सिर्जना गर्न सक्छ।

सिजोफ्रेनिया र दुखद बाल्यकाल
यो रोगलाई कथावस्तु बनाएका कतिपय फिल्मले बालदुर्व्यवहारलाई सिजोफ्रेनियाको सुरुवाती कारणको रुपमा प्रस्तुत गरेका छन्। जुन वास्तवमा गलत हो।

हिन्दी फिल्म कार्तिक कलिंग कार्तिकमा यही विषय प्रस्तुत गरिएको छ। बाल्यकालमा आफ्नो दाजुको बस दुर्घटनाबाट भएको मृत्युलाई सिजोफ्रेनियाको सुरुवातको रुपमा प्रस्तुत गरिएको छ। यो गलत हो। बाल्यकाल सामान्य भएका व्यक्तिलाई पनि सिजोफ्रेनिया हुन सक्छ र सिजोफ्रेनियाको सुरुवातमा बाल्यकालको घटनाको कुनै सम्बन्ध छ भन्ने तथ्य अप्रमाणित छ।

8665974

सिजोफ्रेनिया र अस्पताल
सिजोफ्रेनियाका बिरामीलाई लामो समयसम्म अस्पतालमा तथा बन्दी बनाएर राखिएका दृश्य धेरै फिल्ममा देख्न पाइन्छ। हिन्दी फिल्म शब्द होस् या हालिउ इसनेक पिट, स्पाइडर, सबै फिल्ममा सिजोफ्रेनिया भएका पात्रलाई बन्दी बनाइएको छ।

वास्तवमा सिजोफ्रेनियाको गम्भीर अवस्थाबाहेक यस्ता बिरामी अस्पताल बसिरहनु पर्दैन। घरबाट आउनेजाने गरी यसको उपचार सम्भव छ। सिजोफ्रेनियाका बिरामी सधैं आक्रामक हुन्छन् तसर्थ यिनीहरुलाई अस्पतालमा बाँधेर राख्नुपर्छ भन्ने फिल्मी धारणा एकदम गलत छ। राम्रो उपचार पाएको अवस्थामा यस्ता बिरामीले उत्पादनमूलक काम गरेर सामान्य जीवन बिताउन सक्छन।

सिजोफ्रेनिया र विशेष क्षमता
कतिपय फिल्ममा भने सिजोफ्रेनियाका बिरामीलाई अत्यन्त बौद्धिक क्षमता भएको फरक व्यवहार बोकेको पात्रको रुपमा चित्रण गरिएको हुन्छ। सन् २००१ मा बनेको फिल्म ब्युटीफुल माइन्डलाई यस्तै फिल्म हो। नोबेल पुरस्कार बिजेता गणितज्ञ जोन नासको जीवनकथामा बनेको उक्त फिल्ममा सिजोफ्रेनियाको व्यक्तिको बौद्धिकता प्रस्तुत गरिएको छ।

बलिउड फिल्म लगे रहो मुन्ना भाइमा (फिल्ममा सिजोफ्रेनिया नभनेर केमिकल लोचा भनिएको छ) पनि यस्तै पात्रले गान्धीगिरी गरेर सकारात्मक कुरालाई बढावा गरेको देखाइएको छ। यी दुवै फिल्ममा प्रशस्त सकारात्मक कुरा देखाइएको छ।

images

सिजोफ्रेनिया एउटा जटिल मानसिक समस्या भएकाले यसको समाधान पनि त्यति सजिलो छैन। यसलाई पूर्णतया निर्मूल गर्न नसकिए पनि व्यवस्थापन भने गर्न सकिन्छ। यो विषयमा राज्यले नै चासो लिनुपर्ने अवस्था देखिन्छ। राज्यको सहभागिताबिना यसभित्र थुप्रै जटिलता हुन सक्छन्।

लक्षणहरुको जटिलताअनुसार उपचार र व्यवस्थापन फरकफरक भए तापनि औषधिको प्रयोग, साइकोथेरापी, मनोसामाजिक परामर्श, पारिवारिक सामाजिक सहयोग, मनोशिक्षा र रोजगारी व्यवस्थापन जस्ता पक्षलाई सन्तुलन गर्न सक्ने हो भने यसको समाधान हुन सक्छ।

यसको प्रमुख चुनौती भनेको यससित सम्बन्धित भ्रम, मिथ्या र अज्ञानता हो। सिजोफ्रेनियासँग सम्बन्धित फिल्म र साहित्यको गलत प्रस्तुतीकरणले पीडितप्रति न्याय गर्न नसक्ने हुँदा यसतर्फ सबैको ध्यान जान ढिला भइसक्यो।

lage

(लेखक क्लिनिकल मनोविज्ञ हुन्)

– प्रथम पटक पहिलो पोस्टमा प्रकाशित

1 Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s