निर्धक्क भनौँ “म पीडामा छु”

घटना १ – उनी राम्रो विद्यार्थी थिए। जागिरको निर्णय भइसकेको थियो। साथीभाइसित एउटा गल्ती गर्न पुगे। साथीले पाइरेसी गरेको फिल्म हेर्न र शेयर गर्न पुगे। पाइरेसी अपराध थियो तर जघन्य अपराध थिएन। ब्यवसायिक प्रयोजनको लागि नभएर रमाइलोको लागि गरेको एउटा घटनाको परिणामस्वरूप उनले आफैले आफ्नो जीवनको अन्त्य गरे। आखिर १ हप्ताको घटनाक्रममा त्यस्तो के ठूलो तनाव आयो जसको कारण उनले आत्महत्या गर्ने निर्णय गरे? के उनको त्यो निर्णय त्यो हप्ताको घटनाक्रमको मात्र परिणाम थियो त? हुनत जुन फिल्मको काण्डमा उनी थिए, त्यही फिल्मले पनि आत्महत्यालाई अत्यन्त सामान्य तवरले समस्याको अन्तिम विकल्पको रुपमा प्रस्तुत गरेको छ (हेर्नुस् छक्कापञ्जाको सुरुवात- इन्ट्रोको न्यारेसन) फिल्ममा बदला लिने उदेश्यले मात्र दुई आत्महत्या टरेको छ।

घटना २ – उनी सेलिब्रेटी थिए। २९ वर्षको उमेरमा त्यो किसिमको प्रसिद्धि सामान्य थिएन। लाखौं सख्यामा उनका फ्यान थिए। परिवार, विदेशमा घर सबै सामान्य थियो। उनी हजारौंका प्रेरणा थिए। एक महिनापछि अल्बमको तयारी गर्दै थिए। कन्सर्टको तयारी पनि हुँदै थियो। उनको जीवन हेर्दा कसैको मनमा लाग्दैन उनी अपूर्ण थिए। सबै कुराले पूर्ण देखिने उनको जीवनमा के अपूर्ण भैदियो जसको कारण उनले आफ्नो जीवनको अन्त्य आफैले गरे?

घटना ३ – उनी रामजानकी मन्दिरका पुजारी थिए। जीवन नै अध्यात्ममा लगाएका सत्तरी वर्षीय पुजारीमा आखिर के पीडा थियो होला? भनिन्छ अध्यात्मिक ब्यक्ति सबै पीरदु:खबाट पर हुन्छ। तर सबैको सोचाइ विपरीत उनले आत्महत्याको बाटो रोजे।

दुई दिनको सेरोफेरोमा भएको ३ वटा आत्महत्याको घटनाले नेपालमा आत्महत्याको समस्या कति भयावह छ भन्ने तथ्यलाई फेरि एकपल्ट पुष्टि गरेको छ। कथानक घटना जसरी पत्रपत्रिकामा छाइरहेका यी प्रतिनिधि घटनाले नेपालीहरुको पछिल्लो मानसिक लचकता वा मानसिक क्षमता (Resilience) को प्रतिनिधित्व गर्छन्।

आम मानिसलाई सामान्य लाग्ने घटनामा व्यक्तिहरुले अप्रिय निर्णय गर्ने घटना दोहोरिरहेको छ। सामान्य प्रतिकूलतामा अडिन गाह्रो हुने गरी कमजोर साबित हुँदैछन्। लगभग दिनको १२ जना नेपालीले आत्महत्या गर्ने हाम्रो मुलुक बढी आत्महत्या हुने मुलुक मध्ये ७ औँमा पर्छ भने प्रजनन क्षमता भएका उमेर समूहका महिलाको आत्महत्यामा नेपाल दोस्रोमा पर्छ। त्यति मात्र नभएर विदेशी भूमिमा रहेका नेपालीको मृत्युको मुख्य कारण मध्ये आत्महत्या प्रमुख कारण रहेको छ।

के हो मानसिक लचकता (Resilience)?
सामान्य भाषामा भन्नु पर्दा मानसिक लचकता यस्तो गुण हो जसले व्यक्तिलाई प्रतिकूल अवस्थामा पनि सामान्य हुन मद्दत गर्छ। जुन क्षमताका कारण व्यक्तिले जीवनमा आइपर्ने विभिन्न असमान्य परिस्थिति, पीडा, दुःख जस्ता परिस्थितिको सामना गर्न सक्छ। विशेषगरी उसका संवेदनाहरुमाथि उसले नियन्त्रण गर्न सक्छ। यस्ता व्यक्तिको जीवनमा नकारात्मक कुरा नहुने होइन तर उनीहरुमा नकारात्मक परिस्थितिलाई पनि सामान्यकरण गर्ने क्षमता हुन्छ।

यस्तो क्षमतामा अभिबृद्धिमा उसको बाल्यकाल, परिवार, सम्बन्ध, शिक्षा, समाज, देशको परिस्थिति, आर्थिक पक्ष आदि जस्ता विभिन्न क्षेत्रको प्रभाव हुन्छ। यिनै कुराको प्रतिकूलताको प्रभावस्वरूप यो क्षमताको कमि पनि आउँदछ। यो क्षमताको कमिस्वरूप व्यक्तिले अरुलाई अन्त्यन्त सामान्य लाग्ने घटनामा पनि आत्महत्या जस्तो अप्रिय बाटो रोज्छ।

के आत्महत्या आवेगको प्रतिफल हो?
यो प्रश्नको उत्तर खोज्न सर्वप्रथम आत्महत्या विचार र क्रियाको बारेमा बुझ्न जरुरी छ। कुनै पनि व्यक्तिले बारम्बार मर्ने कुरा गर्छ, त्यस्तो विचार बारम्बार मनमा ल्याउँछ, आफ्नो जीवन अन्त्य गर्ने विभिन्न प्रयोगात्मक शैलीको अभ्यास गर्छ भने त्यसलाई हामी (Suicidal thought) अथवा (Suicidal ideation) भन्न सक्छौँ। यस्तो विचार राख्ने सबैले आत्महत्या गर्छन् भन्ने छैन। त्यस्तो प्रकारको विचार र आत्महत्या क्रिया (Suicide Action) बीच अन्त्यत सानो दुरी हुन्छ। त्यही दूरीको कारण अधिकांश आत्महत्या आवेगमा गरेको जस्तो देखिन्छ किनकि त्यहाँ क्रिया देखिन्छ तर उसमा पहिलेदेखि रहेको आत्महत्या विचार देखिँदैन। त्यसैले धेरै मानिसमा आत्महत्या आवेगको प्रतिफल भन्ने मिथ्या धारणा रहेको हुन्छ।

निर्धक्क भनौँ “म पीडामा छु”
पीडा नहुने यहाँ को होला? आत्महत्याको विचार मनमा धेरै मानिसको जीवनमा कुनै न कुनै बखत आएको हुन्छ। यो कुनै कमजोरी वा मानसिक रोग होइन। तपाईको जीवनको आइपरेको अत्यधिक पीडाको एउटा चरण मात्र हो जुन अस्थायी हुन्छ। जसरी पेट दुख्यो, ज्वरो आयो, टाउको दुखेको छ भनेर हामी सामान्य तवरले भन्छौँ, त्यसरी नै मेरो मनमा पीडा छ भन्ने पनि सामान्य रुपमा भनौँ। जसरी हामी पाचन प्रणालीको रोग, रक्त संचार प्रणालीका रोग सामान्य तवरले छलफल गर्छौ, त्यसरी नै आफ़्नो डिप्रेसन, तनावको बारेमा छलफल गरौँ। विविध सहयोग, सल्लाह सुझाव र मनोपरामर्शले यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ। यदि तपाईँलाई आत्महत्या मात्र अन्तिम विकल्प हो जस्तो लाग्छ भने त्यो सत्य होइन, तर त्यति बेला तपाईलाइ अरु विकल्प नदेखिएको मात्र हो। तसर्थ तपाईले केही समय धैर्य गरेर अरु विकल्पको खोजी गर्नुपर्छ। तत्काल मर्ने विचार मनमा आउँछ भने तपाई संकल्प गर्नुस्, म मेरा पीडाको विकल्प खोज्न कम्तिमा १ दिन वा १ हप्ता वा १ महिना पर्खिनेछु। यसले तपाईको विचार र व्यवहार (क्रिया) को दूरी बढाउने काम गर्नेछ र समाधान खोज्न तपाईलाइ समय प्राप्त हुनेछ। अझ प्रस्ट रुपमा भन्ने हो भने यसले Suicidal Thought र Suicidal Action बीचको दुरी बढाउन सहयोग गर्नेछ।

यदि परिवार ,साथीभाइ अथवा समाजमा कसैले आफूलाई मर्न मन लागेको आशयको अभिव्यक्ति दिन्छ भने पक्कै पनि उसलाई कुनै प्रकारको सहयोग चाहिएको हुनसक्छ। अधिकांश आत्महत्याका घटनामा आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रुपले सहयोगको निम्ति अपिल गरेको हुन्छ। उक्त अपिललाई बुझ्न सकियो भने आत्महत्या रोक्न सकिन्छ। आत्महत्या देख्दा आवेगमा आएर गरेको जस्तो देखिए पनि यसका अधिकांश घटना योजनाबद्ध भएको हुन्छ। नेपालमा पनि हाल विभिन्न संस्थाहरुले यो विषयमा काम गर्दै आएका छन्। ती अस्पताल, परामर्स केन्द्रमा गई यो विषयमा थप जानकारी लिन सकिन्छ।

आत्महत्या हाम्रो ठूलो जनस्वास्थ्यको समस्या भइसकेको छ। आत्महत्या भइसकेपछिको पीडाको ब्यबस्थापन अझ बढी गार्हो कुरा हो। आत्महत्या समस्याको समाधान नभएर आज्ञ प्रियजनलाई आफ्नो पीडा थपिदिने कार्य मात्र हो। तसर्थ हामी सबैले यसको गम्भीरतालाई बुझ्नु जरुरी छ। हाम्रा बालबालिकालाई हामीले आत्महत्या कुनै पनि समस्याको समाधान कदापि होइन भनेर बुझाउन जरुरी छ।

Original post – http://www.mysansar.com/2017/01/26146/#more-26146

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s