जीवन परिवर्तनको लागि एक मिनेट

यो वर्ष आत्महत्या दिवसको लागि ‘जीवन परिवर्तनको लागि एक मिनेट’ नारा तय गरिएको छ। आत्महत्या नयाँ विषयवस्तु होइन। यो जनस्वास्थ्यसँग गाँसिएको गम्भीर विषयवस्तु हो। विश्वमा वर्षेनी लगभग १० लाख व्यक्तिले आत्महत्या गर्छन्। आत्महत्याको प्रयास गर्नेको संख्या त्योभन्दा २५ गुणाले बढी भएको मानिन्छ।

विश्वमा प्रत्येक सेकेन्ड ४० जनाले आत्महत्या गर्छन्। नेपाल आत्महत्या बढी गर्ने मुलुकमा सातौँ नम्बरमा पर्छ। प्रजनन उमेर समूहको महिलाको आत्महत्यामा हामी विश्वको तेस्रो स्थानमा पर्छौं।

आत्महत्याको प्रमुख कारण डिप्रेसनलाई मानिएको छ। आत्महत्याका घटना मध्ये ९० प्रतिशत घटनामा मानसिक स्वास्थ्य प्रमुख कारण मानिएको छ। नेपालीमा कति प्रतिशत व्यक्ति मानसिक रोगबाट पीडित छन् भन्न कठिन छ।

केन्द्रीय तथ्यांक विभागको जनगणना सन् २०११ अनुसार नेपालमा मात्र ३० हजार ९९७ जना गम्भीर मानसिक समस्याले ग्रसित छन्। नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरुको स्रोत अनुसार कूल जनसंख्याको २ प्रतिशतमा गम्भीर मानसिक समस्या र २० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक रोग छ। नेपालमा १० वर्ष चलेको द्वन्द्व , त्यसपछि बढेको वैदेशिक रोजगारी र पछिल्लो भूकम्पले नेपाली समाजमा मानसिक स्वास्थ्य क्षेत्रमा कस्तो असर गरेको छ, हामीसित प्रष्ट जवाफ छैन।

नेपाल प्रहरीको लगातार पाँच वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०६८/६९ मा ३ हजार ९७७ जनाले २०६९/०७० मा ३ हजार ९७४ जनाले, आर्थिक वर्ष २०७०/७१ मा ४ हजार ५०४ जनाले, २०७१/७२ मा ४ हजार ३३२ र २०७२/७३ मा ४ हजार ६६७ जनाले आत्महत्या गरेको देखिन्छ। यो तथ्यांकले पनि आत्महत्या निरन्तर बढेको देखिन्छ।

आत्महत्याको रोकथाममा अहिले नेपालको प्रमुख समस्या भनेको मानसिक स्वास्थ्यसम्बन्धि भ्रम र जनचेतना हो। अर्को समस्या मानसिक रोगको उपचारमा पहुँचको कमि हो। एकातर्फ मानसिक रोगको बारेमा जनमानसमा थुप्रै मिथ्या धारणाहरु रहेका छन् भने अर्कोतर्फ रोगको पहिचान र उपचारको लागि पर्याप्त पहुँच छैन। हाम्रो समाजमा मानसिक समस्या भएको व्यक्तिप्रति राखिने दृष्टिकोण गलत र फरक ढंगको छ। जनचेतनाको कमि या यसप्रतिको बेवास्ताको कारण यस्तो समस्याको लागि उपचारको पहलको सट्टामा आफूमा मानसिक समस्या भएको कुरालाई अभिव्यक्तसमेत गर्ने परम्पराको नै विकास भएको छैन। मानसिक रोगीप्रति हेरिने नकारात्मक दृष्टिकोण र यस्तो समस्यालाई पूर्वजन्मको पापको संज्ञा दिने हाम्रो जस्तो समाजमा आफूमा मानसिक र व्यवहारिक परिवर्तन हुँदाहुँदै पनि समाजमा अपहेलित हुने डरले लुकाएर राख्नुपर्ने बाध्यता रहेको छ।

अर्कोतर्फ परिवारको चाहना हुँदा हुँदै पनि मानसिक रोगको उपचारको सुविधा र पहुँचको अभावमा धेरै मानसिक रोगीले समयमा उपचार नपाउने अवस्था छ। शहरी क्षेत्रमा पनि यो सुविधा कम छ। ग्रामिण क्षेत्रमा अहिलेको अवस्थामा मानसिक स्वास्थ्य सुविधा छँदैछैन। भएका अस्पतालहरुमा कि त मानसिक रोगको उपचार गर्ने विभाग छैन कि त भएकामा पनि पर्याप्त दक्ष जनशक्ति छैनन्। र, सबैभन्दा ठूलो कुरा आम मानिसमा मानसिक रोगको उपचारको लागि अस्पताल जानु पर्छ भन्ने संस्कारको विकास भएको छैन। नेपालमा अहिले आत्महत्या रोकथामको हेल्पलाइनको पनि कमि छ। निजी क्षेत्रको प्रयास अपर्याप्त छ। सरकारी क्षेत्रबाट हेल्पलाइनको कुनै व्यवस्था छैन। तसर्थ यसमा ध्यान दिनु अत्यन्त जरुरी छ।
जीवन परिवर्तनका लागि एक मिनेट
यो वर्ष आत्महत्या दिवसको लागि तोकिएको नारा ‘जीवन परिवर्तनको लागि एक मिनेट’ले विशेष अर्थ बोकेको छ। यो वर्ष आत्महत्या गर्ने सम्भावना भएको व्यक्तिसँगको पहुँचलाई मुख्य विषय बनाइएको छ। त्यस्ता व्यक्तिसँग बिताएको एक मिनेटले पनि उनीहरुको जीवन परिवर्तन गर्न सकिने अर्थ यो वर्षको नाराले बोकेको छ।

एक अध्ययन अनुसार आत्महत्याका घटनामा ७० प्रतिशतभन्दा बढीले आत्महत्या गर्नुअघि खतराको संकेत दिन्छन्। उनीहरुले आफ्नो समाज, परिवार, साथीभाइसित ती संकेतहरु कुनै न कुनै रुपमा प्रस्तुत गरेका हुन्छन्। मानसिक समस्या भएका कतिपय मानिसले आफैं समस्याको समाधान खोजेका हुन्छन् र चिकित्सकको सेवा लिनको निम्ति नजिकको विश्वासपात्र वा परिवारजनलाई कुनै न कुनै रूपमा जानकारी गराउँछन्।

वास्तवमा उनीहरूलाई पनि आफ्नो शरीरको माया हुन्छ, तर अरू विकल्प नदेखेर आत्महत्याको बाटो अपनाउँछन्। आत्महत्याको जोखिममा भएका व्यक्तिको पहुँचमा पुगेका व्यक्तिहरुसित सबै प्रश्नको उत्तर नभएता पनि केवल उनीहरुलाई सुनिदिँदा मात्र पनि धेरै व्यक्तिलाई बचाउन सकिन्छ। आत्महत्या गर्ने व्यक्तिसँग मर्ने इच्छासँगै उसको खुसी भएर बाँच्ने इच्छासमेत गाँसिएको हुन्छ। आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नुपूर्व कसैको सहयोगको अपेक्षा गरिरहेका हुन्छन्। कसैले उनीहरूको कुरा सुनिदेओस् भन्ने चाहना राखेका हुन्छन्। सहानुभूतिको आश गरिरहेका हुन्छन्। उनीहरुको यो इच्छालाई बुझ्न सकियो र बुझाउन सकियो भने जीवन रक्षा गर्न सकिन्छ। तसर्थ जीवन परिवर्तनको लागि एक मिनेट काफी छ। प्रत्येक व्यक्ति हेल्पलाइन हो। जीवनको महत्व सिकाउने शिक्षा घरबाट सुरु गरौँ। आत्महत्या रोकथाम अभियानको सुरुवात घरैबाट हुन्छ। यदि त्यस्तो गर्दा पनि जीवन असहज छ भने कुरा गरौँ वा कुरा गर्न प्रेरित गरौं। जीवन अन्त्य गर्ने सोच आएर कुनै सहयोग निकायमा पुगेको व्यक्तिले आत्महत्या गर्ने सम्भावना अत्यन्त कम हुन्छ। तसर्थ आफ्नो कुरा सहज रुपमा भन्ने र अरुको कुरा निर्धक्क सुन्ने समाजको निर्माण गर्न के गर्न सकिन्छ विचार गरौँ। मानसिक रुपमा एक्लो भएको व्यक्तिको लागि तपाईंले गर्ने हाइ, हेल्लो, नमस्ते, आरामै छौ, सबै ठीक छ नि?, चिया खायौ? ले ठूलो अर्थ राख्छ। मेरो जीवन अन्त्य गर्छु भन्ने सोच भएको व्यक्तिको लागि समाजका प्रत्येक व्यक्ति हेल्पलाइन हुन्। तसर्थ आत्महत्या शून्य समाजको निर्माणमा सबैले आ-आफ्नो स्थानबाट भूमिका खेलौं।

3 Comments

  1. Good article, daju.
    “समाजका प्रत्येक व्यक्ति हेल्पलाईन हुन।”
    यो कन्सेप्टले मन छोयो दाजु।

  2. Good article, daju.
    “समाजका प्रत्येक व्यक्ति हेल्पलाईन हुन।”
    यो कन्सेप्टले मन छोयो दाजु।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s