एउटा जंगलमा एउटा सिमलको बोट थियो । पुरै जंगल भरी एउटा मात्र सिमल हुँदा सिमलको बोट अत्यन्त दुखी थियो । कतै यो जंगल बाट सिमल सकिने त होइन भनेर सिमल अत्यन्त चिन्तित थियो । धेरै समय देखी सिमलमा फुल नफुलेकोले उसको चिन्ता दिन प्रती दिन बढी रहेको थियो ।
एक दिन अचानक सिमलमा एउटा फुलको कोपिला देखा पर्यो । सिमल अत्यन्त खुशी भयो । अब यो कोपिला फुल्ने छ र यो झरेर यसको बिऊ बाट नयाँ सिमल उम्रिने छ भनी सिमल अत्यन्त खुशी थियो । सिमल दिन गन्दै फुल फक्रिने समयको प्रतिक्षा गर्न थाल्यो ।
एक दिन त्यो सिमलमा एउटा चरा आयो ।उक्त चराले त्यो सिमलको फुल देख्यो । उ अत्यन्त खुशी भयो किनकी उसलाई सिमलको फुल खुब मन पर्थ्यो । लामो समय देखी त्यो जंगलमा सिमलका फुल नदेखेर उ अचम्म परेको थियो । यसरी अचानक सिमलको फुल देखेर उ रमायो ।उ त्यो फुल खान चाहन्थ्यो । उ सिमलको हागामा बसेर त्यो फुललाई ठुग्न थाल्यो । यो देखेर सिमल रुन थाल्यो । सिमलको बोटबाट आशु बग्न थाल्यो ।
यसरी सिमल रोएको देखेर चरा रोकियो । उसले सिमल लाई सोध्यो हे सिमल तिमी किन रोएको ?
सिमलले रुदै भन्यो । हे चरा यो जंगलका सबै मेरा साथी सिमलका रुख मासिए ।म यो जंगलको एक्लो सिमल हुँ । लामो समय देखी मेरो बोटमा फुल नफुल्दा मेरो अन्त्य संगै यो जंगलबाट सिमल हराउने हो कि भनेर म चिन्तित थिए । तर जुन दिन देखी यो फुल अंकुरित भयो । म अत्यन्त खुशी भएको थिए । आज तिमीले यो फुललाई ठुग्न थालेको देखेर मेरो खुशी निराशामा बदलियो । त्यसैले म रोएको हुँ ।
चराले धर्य पूर्वक सिमलको कुरा सुन्यो । वास्तवमै यो जंगलबाट सिमलको रुख हराउदै गएको उसले पनि महसुस गरेको थियो ।आफुलाई मन पर्ने सिमलको फुल दुर्लब हुँदै गएको कुरा उसले थाहा पाएको थियो । उसले बिचार गर्यो शायद उसले यो फुल खाएन भने यसबाट आउने बिऊले अरु सिमल उम्रिने छन् र भबिश्यमा यो जंगलमा फेरी सिमलको रुख प्रसस्त हुने छन् ।
त्यस पछी चराले त्यो फुल खाने इच्छा त्याग्यो । चराले सिमल सित मित्रता गरेर त्यही सिमलमा गूढ बनाएर बस्यो । समय बित्दै गयो । त्यो फुल फक्रीयो । त्यस बाट छिप्पिएको सिमलको बिऊ भुइमा झरेर अरु सिमल उम्रियो । हेर्दा हेर्दै जंगलमा धेरै सिमलका रुख उम्रिए । चराहरु ति सिमलका रुखमा रमाउदै सिमलका फुलमा ठुग्दै खेल्न थाले ।
वातावरण विज्ञानसँग सम्बन्धित सुन्दर कथा रहेछ । वास्तवमा सिमलको रुख र गिद्ध चराको निकै राम्रो सम्बन्ध छ । केहीवर्ष यता विशेष गरी नेपालमा तिब्र रुपमा खुलेका प्लाइउड फेक्ट्री र अव्यस्थित रुपमा कटान गरिएका सिमलका रुख सँगै सिनो खाएर इकोसिस्टममा सहयोग पुर्याउने गिद्धहरू लोप हुँदै गएको देखिन्छ । वास्तवमै बडेमाका सिमलका रूखमा झुल्के घाममा देखिले एक हुल गिद्ध चराले मलाई सधै रोमांचित बनाउने गर्थे । यस कथाले म जस्ता नेपाली ग्रामिण क्षेत्रमा हुर्किएका पाठकलाई पक्कै नोस्टाल्जिक बनाउने छ र अमोहा जस्ता धेरै नानीबाबुहरूलाई मनोरंजन र शिक्षा दिनेछ ।